Skip to main content
सूचीमा फर्कनुहोस्

समाचारराष्ट्रिय

प्रेस विज्ञप्ति: पत्रकारमाथिको धरपकड र दुर्व्यवहारप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण

जिम्मेवार एकाइ
NGO Federation of Nepal
पत्रकारमाथिको धरपकड र दुर्व्यवहारबारे २०८३/०७/१४ को हस्ताक्षरित प्रेस विज्ञप्ति

मिति: २०८३/०७/१४

पत्रकारहरूले समाचार लेखेको वा प्रकाशन गरेको आधारमा उनीहरूलाई धरपकड गर्ने, धम्क्याउने, दुर्व्यवहार गर्ने वा त्रसित पार्ने कार्यप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार जगत र यसमा आबद्ध सञ्चारकर्मीमाथि गरिने दुर्व्यवहार, धरपकड तथा त्रास सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र विधिको शासनको उपहास हो। यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि मात्र नभई नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासमाथि समेत गम्भीर असर पार्दछ।

लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता नागरिकका मौलिक अधिकार हुन्। पत्रकारले समाचार लेखेकै वा प्रकाशन गरेकै आधारमा उनीहरूलाई नियन्त्रणमा लिने, दुःख दिने वा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नबाट हतोत्साहित गर्ने कार्य स्वीकार्य हुन सक्दैन।

यस सन्दर्भमा, गैरसरकारी संस्था महासंघ नेपाल नेपाल सरकारलाई पत्रकार तथा सञ्चारकर्मीविरुद्ध यस्ता कदम नचाल्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नागरिकका मौलिक हक र स्वतन्त्रताको संरक्षण गर्न हार्दिक अपिल गर्दछ।

साथै, पत्रकारहरूले आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा कुनै कानुनी प्रश्न वा विवाद उत्पन्न भएमा त्यसको निरूपण संविधान, प्रचलित कानुन र विधिको शासनका मान्यताबमोजिम गर्न तथा पत्रकारहरूलाई स्वतन्त्र, सुरक्षित र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ।

गैरसरकारी संस्था महासंघ नेपाल जनभावनाको उच्च सम्मान गर्दै जनअधिकार, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सम्बन्धित सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्दछ।

देवी खड्का, महासचिव अर्जुन भट्टराई, अध्यक्ष

स्रोत: https://www.facebook.com/share/p/19PeXsmRHy/

जिम्मेवार एकाइ
NGO Federation of Nepal

थप सामग्री

सबै हेर्नुहोस्