Skip to main content

भूकम्प गएको चार वर्षको सम्झनामा पुर्ननिर्माणका सामाजिक तथा साँस्कृति दृष्टिकोणबारे वृहत नागरिक–राजनैतिक संवाद काठमाण्डौमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य माननीय मीनबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको उक्त संवादमा २०७२ वैशाख १२ गते गएको भूकम्पपछिका पुर्ननिर्माणको अवस्था र विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारीका विषयमा छलफल भएको थियो । विपद् पश्चात आउने विविध समस्याहरूमध्ये महिला हिंसाका घटना, खाद्य असुरक्षा र राहतका लागि झण्झटिलो कानूनी व्यवस्था मुख्य समस्या रहेकाले उक्त समस्याहरूको समाधानका लागि प्रभावित समुदायलाई समानताको नजरले नभई समता र न्यायको दृष्टिकोणबाट हेरिनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । 
कार्यक्रममा बोल्दै राष्ट्रिय पुर्ननिर्माण आयोगका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले हालसम्म भोगेका विभिन्न प्राकृतिक विपद्बाट पाठ सिक्दै सबै सरोकारवालाहरू मिलेर आगामी दिनका सम्भावित विपद्का जोखिम न्यूनिकरणका लागि तयार रहनु पर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि मीनबहादुर शाहीले राष्ट्रिय योजना आयोगको १५ औँ योजनामा विपद् जोखिम व्यवस्थापनका लागि पुर्वतयारीको पक्षलाई गम्भिरताका साथ समावेश गरिएको बताउनु भयो । संवादबाट आएका मुख्य मुद्दाहरूको दस्तावेज बनाई सरोकारवालाहरूलाई प्रस्तुत गरिने कुरा आजोजकले बताएका छन् । 
कार्यक्रम गैरसरकारी संस्था महासंघ, मानवीय जवाफदेहिता अनुगमन पहल (हामी), मानव अधिकार एलाइन्स्, फियान नेपाल र खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल नेपालको संयुक्त पहलमा आयोजना गरिएको हो ।