Skip to main content
Kavre

जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी संस्था महासंघ नेपालको संयुक्त आयोजनामा काभ्रे जिल्लामा स्थानिय निकायका नवनियुक्त पदाधिकारीहरुलाइ लक्ष्यित गरेर दिगो विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । 
जिल्ला र नगर तहमा क्रमशः कात्र्तिक १३ र १७ गते दुई चरणमा सम्पन्न भएका कार्यक्रममा काभ्रे जिल्लाका सबै स्थानिय निकायका प्रमुख र उप–प्रमुखहरुको उपस्थिती रहेको थियो । दिगो विकासलाई कसरी स्थानिय स्रोत साधन सुहाउँदो ढंगबाट अवलम्वन गर्न सकिन्छ भन्ने बारेमा केन्द्रित हुदै अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा दिगो विकासको अवधारणा, यसका विभिन्न आयामहरु, यसका लक्ष्य र उपलक्ष्यहरु तथा सूचकहरुका बारेमा विस्तृत जानकारी गराइएको थियो । कार्यक्रममा दिगो विकास लक्ष्य कार्यान्वयनको दुइ बर्षको अवधिमा सरकारी तथा गैरसरकारी संस्थाहरुबाट भएका पहल तथा अभियानका बारेमा जानकारी गराइएको थियो । दिगो विकास लक्ष्यको समग्र विषय वस्तुलाइ समेटेर गैरसरकारी संस्था महासंघ नेपालका कार्यकारी निर्देशक दयासागर श्रेष्टले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेपाल सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगका योजना अधिकृत शर्मिला कार्किले नेपाल सरकारका तर्फबाट दिगो विकास लक्ष्यहरु हासिल गर्नका लागि चालिएका कदमहरु र योजनाका बारेमा  जानकारी गराउनु भएको थियो । 
अभिुखिकरण कार्यक्रममा पत्रकार महासंघ काभ्रेका सभापति मोति राम तिमिल्सेना, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के सी, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा, पनौति नगरपालिकाका उप मेयर गिता भण्डारी, खानीखोला गाउपालिकाका अध्यक्ष कृष्ण खनाल लगाएतका व्यक्तिहरुले दिगो विकास लक्ष्याका सम्बन्धमा आआफ्नो बुझाइ, स्थानिय तहमा यसको अवलम्वनका उपायहरु र व्यक्तिगत प्रतिवद्धताहरु व्यक्त गर्नु भएको थियो ।